काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई चारैतिरबाट खेद्ने मात्रै काम भएको गुनासो गरेका छन् । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि भएको पत्रकार सम्मेलनमा लामिछानेले विगतदेखि नै आफूलाई चारैतिरबाट घेरा हाल्ने काम भएको गुनासो गर्दै देश विदेश जता जाँदा पनि आफ्नो बाटोमा अवरोध आइरहेको बताए ।
विदेशबाट नेपाल फर्केर देशमा केही गरौँ भनेर सञ्चार कर्ममार्फत आम मानिसका समस्या समाधानको पहल गर्दा पनि विभिन्न आरोप लगाइएको उनले बताए । सञ्चार कर्मपछि राजनीतिमा आउँदा पनि नेपालका सञ्चारमाध्यमले निकै आलोचना र अवरोध गरिरहेको लामिछानेको गुनासो छ । तर उहाँले हार नमानेको भन्दै जनमतको कदर गर्ने र आसा उत्साहका साथ दिएको एकरएक भोट खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।