एजेन्सी । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने र घाइतेको संख्या बढ्दै गएको छ । हालसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याको आठ गुणासम्म बढ्ने बताएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् ।
वर्षासहित हिउँ परिरहेकाले खोजी कार्यमा समस्या भइरहेको छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् । दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरु घाइतेले भरिएका छन् ।
टर्की रेड क्रिसेन्टले त्यहाँका नागरिकहरुलाई रक्तदान गर्न आह्वान गरेको छ । टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति राष्ट्रपति रेजेप ताइयीप एर्दोआनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ । बेलायतले ७६ जना विज्ञ, उपकरण र उद्धार गर्ने कुकुर पठाएको जनाएको छ । फ्रान्स, जर्मनी, इजरायल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अष्ट्रेलियाले एक करोड अमेरिकी डलरसहित विशेषज्ञ टोली पठाउने निर्णय गरेको छ ।