काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भएको भीषण आगलागीले बजार क्षेत्र पूर्णरूपमा ध्वस्त भएको छ। ग्यास सिलिन्डर विस्फोट भएर सुरु भएको आगोले करिब ४० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
दिउँसो करिब साढे ३ बजेतिर नवदुर्गा होटलमा रहेको ग्यास सिलिन्डर पड्किएपछि आगलागी सुरु भएको थियो। आगो तीव्र गतिमा फैलिँदा बजारमा रहेका टहरा शैलीका पसलहरू एकैपटक जलेका हुन्। बजारमा करिब १२० भन्दा बढी पसलहरू रहेको जनाइएको छ। स्थानीय व्यवसायी रामबहादुर ऐडीका अनुसार उनले सञ्चालन गर्दै आएको खाद्यान्न पसल एकैछिनमा खरानी भयो।
‘पसलको काउन्टरमा बिल काट्दै थिएँ, एक्कासी आगोको मुस्लो देखियो। आँखा अगाडि नै पसल जले। बाइक झिक्न पनि सकिएन,’ – ऐडीको भने। बुढीगंगा नगरपालिकामा दमकल नहुँदा आगो नियन्त्रणमा लिन समस्या भएको छ। डोजर र पानीट्यांकरको सहायताले आगो निभाउने प्रयास गरिएको नगरप्रमुख रामबहादुर बानियाँले जानकारी दिए।