काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको रोमाञ्चक खेलमा नेपालले कीर्तिमानी प्रदर्शनका बाबजुद स्कटल्यान्डसँग २ रनको झिनो अन्तरले पराजय भोगेको छ। जितको लागि ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले अन्तिम बलसम्म संघर्ष गरे पनि जित निकाल्न सकेन।
स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको अन्तिम बलमा अलआउट हुँदै मात्र ३२१ रन बनाउन सक्यो। यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको हालसम्मकै सर्वाधिक रन हो। ऐतिहासिक लक्ष्य पछ्याउने क्रममा नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रनको योगदान दिए।
उपकप्तान दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले सातौं विकेटका लागि विस्फोटक साझेदारी गर्दै खेललाई नेपालको पक्षमा झुकाउने प्रयास गरे। यी दुईबीच १०५ रनको साझेदारी भएको थियो। दीपेन्द्रले ५६ रन बनाउँदा सोमपालले ४४ बलमा ३ चौका र ४ छक्कासहित ६७ रनको आक्रामक इनिङ खेले। तर, उनीहरूको सानदार प्रयास जितका लागि पर्याप्त भएन।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार पारेको थियो।
उसका लागि कप्तान रिची बेरिङ्टनको शतकीय इनिङ रह्यो। उनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रन बनाए। स्कटल्यान्डका लागि माइकल लिस्कले ६२ बलमा अविजित ९६ रनको विस्फोटक पाली खेल्दै खेलको स्वरूप बदलेका थिए। नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए।