एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराक्चीले देशको सार्वभौमिकता, राष्ट्रिय हित तथा जनताको सुरक्षा गर्न सबै विकल्प उपलब्ध रहेको बताएका छन् । अमेरिकाले देशका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
विदेशमन्त्री अराक्चीले अमेरिकाले संयुक्त राष्ट्रसंघको चार्टर उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भने, ‘संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य अमेरिकाले इरानका शान्तिपूर्ण परमाणु स्थापनाहरूमा आक्रमण गरेर संयुक्त राष्ट्रसंघको चार्टर, अन्तर्राष्ट्रिय कानुन र परमाणु अप्रसार सन्धि एनपीटीको गम्भीर उल्लंघन गरेको छ ।’
विदेशमन्त्री अराक्चीले आज बिहान भएका घटनाहरू क्रूर भएको र यसको असर दीर्घकालीन हुने बताए । संयुक्त राष्ट्रसंघका सबै सदस्यहरूले अत्यन्तै खतरनाक, अराजक र आपराधिक व्यवहारप्रति चिन्ता व्यक्त गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘संयुक्त राष्ट्रसंघ चार्टरले आत्मरक्षाको लागि वैध प्रतिक्रिया जनाउने अधिकार दिएको छ । त्यसअनुसार इरानसँग आफ्ना सार्वभौमिकता, राष्ट्रिय हित तथा जनताको सुरक्षा गर्न सबै विकल्प उपलब्ध छन् ।’
अमेरिकाले आइतबार बिहान फोर्दो, नतांज र इस्फहानमा आक्रमण गरेको थियो । उक्त अमेरिकी आक्रमणमा इजरायलले पनि आफूले सहयोग गरेको पुष्टि गरिसकेको छ ।