लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनिय र बस्तुनिष्ठ बनाउन कक्षा नर्सरी देखि १० सम्मका परीक्षाहरु परीक्षा समितिमार्फत गाउँपालिकाबाट नै सञ्चालन गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले पालिका स्तरिय परीक्षा समिति गठन गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रशासकिय अधिकृत, स्थानीय प्रहरी प्रमुख सदस्य रहने उक्त समितिमा शिक्षा शाखाका प्रमुख सदस्य सचिव र ५ जना विषयगत उप समितिका संयोजकहरु सदस्य रहने गरी ९ सदस्यीय परीक्षा समिति रहने व्यवस्था सम्पन्न गाउँ सभाबाट स्थानीय शिक्षा ऐनमा संशोधन समेत गरी समितिको आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गर्दै कामलाई अगाडी बढाइएको छ ।
विषयगत समितिका संयोजकहरुमा तिर्थ बहादुर बस्नेत सामाजिक, मुक्तिनाथ न्यौपाने अंग्रेजी, ईश्वर बाबु पाण्डे नेपाली, महेन्द्र न्यौपाने विज्ञान, थमन गुरुङ गणित रहेका छन् ।
प्रश्न पत्र निर्माण देखि विषयगत सुधारका निम्ति विषयगत समितिहरुले अन्य विज्ञ शिक्षकहरुको सहयोग लिएर काम गर्ने गरी जिम्मेवारी दिइएकोछ ।
शैक्षिक शत्र २०७९ को वार्षिक परीक्षा मिति २०७९ चैत्र १७ गते देखि २४ गते सम्म कक्षा १–५ को १२ः३० बजे र कक्षा ६–९ को दिउँसो १ः०० बजे लिने गरी परीक्षा तालिका समेत तयार गरिसकेकोछ भने सबै कक्षाहरुको वार्षिक परीक्षाको नतिजा २०७९ चैत्र ३० गते गरिनेछ ।
परीक्षा समितिले पालिका भरिकोे SEE योग्यता मूल्याँकन परीक्षा समेत मिति २०७९ फागुन १४ गते देखि दिनको १ः०० – ४ः०० बजे सुरु गर्ने र मिति २०७९-११-२६ गते नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ ।
परीक्षा समितिद्धारा परीक्षा सञ्चालन गर्दा परीक्षा गुणस्तरिय, विश्वसनिय र बस्तुनिष्ठ हुने र यसको एकरुपताले थप मर्यादित बनाउन सकिने र यसबाट सम्पूर्ण विद्यार्थी एवं शिक्षकहरुलाई अध्ययन अध्यापनमा थप संवेदनशिल बनाउन सक्ने परीक्षा समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ बताउँछन् ।