काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाली महिला फुटबल टोलीले शानदार प्रदर्शन गर्दै लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को पाँच गोलसहित नेपालले एकतर्फी जित निकालेको हो।
साम्बाले कप्तानको रुपमा डेब्यु खेलमै पावरफुल उपस्थिति जनाउँदै एक्लैले पाँच गोल गरिन्। त्यसैगरी सरु लिम्बु, अनिता बस्नेत, रश्मी कुमार घिसिङ र अनिता केसीले एक–एक गोल गर्दै टोलीलाई बलियो जित दिलाए।
नेपालले खेलको १२औं मिनेटमै अनिता बस्नेतको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफको ४४औं मिनेटमा सावित्राले दोस्रो गोल गर्दै अन्तर दोब्बर बनाइन्। दोस्रो हाफमा नेपालले थप सात गोल गर्दै लाओसमाथि एकपक्षीय जित हासिल गर्यो।
यो जितसँगै नेपाल समूह ‘एफ’ मा अग्रता लिने अवसरमा पुगेको छ। समूह ‘एफ’ मा नेपालसहित आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन्। नेपालले आफ्नो दोस्रो खेल असार १८ गते श्रीलंकासँग र अन्तिम खेल असार २१ गते आयोजक उज्वेकिस्तानसँग खेल्नेछ।
समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को चरणमा स्थान बनाउने भएकाले नेपालका लागि आगामी दुई खेल पनि निर्णायक हुनेछन्।