काठमाडौं । रौनक श्रीवास्तवको विस्फोटक शतकको मद्दतमा नेपालले भुटानलाई २९८ रनले पराजित गर्दै एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेसियाको सेलांगर ट्रफ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो। रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको शानदार पारी खेले। शिवान्श बजगाईंले ५४, जोए थापाले अविजित ६१ तथा सुगम बुढाथोकीले ३५ रनको योगदान गरे।
३५९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भुटानको इनिङ ३२.४ ओभरमै ६० रनमा सकियो। कप्तान विपिन शर्माले ४ विकेट लिए भने सचिन भट्ट र सुयोग भट्टराईले समान २–२ विकेट लिए।
नेपालले समूह ‘ए’ का चारै खेल जित्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो। अब नेपालले बिहीबार समूह ‘बी’ को उपविजेता मलेसियासँग सेमिफाइनल खेल्नेछ।
नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो। फाइनल खेल असार २१ (जुलाई ५) मा हुनेछ।