एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको मानहानी सम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाइएको छ । न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले बुधबार यो फैसला गरेको हो ।
यो मुद्दा शेख हसिनाले गत वर्ष अक्टोबरमा गाइबान्धाको गोबिन्दगञ्जका स्थानीय नेता शाकिल अकन्द बुलबुलसँग गरेको कथित फोन कुराकानीको लीक भएको अडियोमा आधारित छ । उक्त अडियोमा हसिनाले आफूविरुद्ध २२७ वटा मुद्दा दायर भएको र त्यसले उनलाई ‘२२७ जनालाई मार्ने इजाजत दिएको’ भन्ने विवादास्पद टिप्पणी गरेको सुनिएको थियो । यो अडियो सामाजिक सञ्जाल र मुलधार मिडियामा भाइरल भएको थियो ।