काठमाडौं । एएफसी महिला एसियन कप २०२६ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। उज्वेकिस्तानमा सम्पन्न खेलमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गर्दै टिमको जितमा महत्वपूर्ण भूमिका निभाइन्।
खेलको सातौं मिनेटमै गीता रानाको हेड गोलबाट नेपालले सुरुवाती अग्रता बनायो। त्यसपछि २० औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता दोब्बर बनाइन्। पहिलो हाफको अन्त्यतिर सावित्राले थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्। पहिलो हाफमा नेपाल ४–० ले अघि थियो।
दोस्रो हाफमा पनि नेपालको दबदबा कायम रह्यो। गीता रानाले ५४ औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसपछि ६१ औं मिनेटमा निशा थोकरले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरिन्। ७८ औं मिनेटमा रेखा पौडेलले हेडमार्फत गोल थपिन् भने अन्तिमतिर पूजा रानाले आठौं गोल गर्दै नेपालको सानदार जित सुनिश्चित गरिन्।
नेपालले यसअघि पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो। दुई खेलमा १७ गोल गर्दै कुनै गोल नखाएको नेपाल समूह ‘एफ’ मा शीर्ष स्थानमा छ।
श्रीलंकाका लागि भने यो लगातार दोस्रो हार हो। उनीहरू पहिलो खेलमा आयोजक उज्वेकिस्तानसँग १०–० ले पराजित भएका थिए।
फिफा वरीयतामा नेपाल १००औं र श्रीलंका १५९औं स्थानमा रहेका छन्।
अब नेपालले शनिबार घरेलु टोली उज्वेकिस्तानसँग निर्णायक खेल खेल्नेछ। सो खेलको नतिजाले एएफसी महिला एसियन कप २०२६ को छनोट तय गर्नेछ।