काठमाडौं । अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सफलता हासिल गरेका नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान तथा पुरस्कार प्रदान गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आयोजित थियो।
तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक जित्ने विजय सिंजालीलाई प्रधानमन्त्रीले नगद ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरे। उक्त प्रतियोगिता जापानमा कात्तिक ७ देखि १२ गतेसम्म भएको थियो।
त्यसैगरी, इरानमा फागुन २० देखि २५ गतेसम्म आयोजित छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा कास्य पदक जित्ने मनमती विष्टसहित खेलाडीहरूलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ।
श्रीलङ्कामा असोज २० देखि २६ गतेसम्म भएको ‘काभा यू–२०’ पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक जित्ने अर्जुन नेपालीसहित टोलीलाई जनही ३ लाख रुपैयाँ प्रदान गरिएको हो।
यसका साथै मलेसियामा असार ८ देखि २१ गतेसम्म भएको ‘एसीसी यू–१६ इस्ट जोन कप’ क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई पराजित गरी उपाधि जित्ने टोलीलाई प्रधानमन्त्रीले बधाई तथा स्वागत गरेका छन्।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई सरकारको उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै भने, “सङ्गठित रूपमा खेल क्षेत्रमा लाग्ने अभ्यास धेरै पुरानो होइन। अब व्यावसायिक समर्पणका साथ अघि बढ्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा सफलता सम्भव छ।” उनले देशको प्रतिष्ठा बढाउन योगदान दिने सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई धन्यवाद तथा बधाई दिए।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा सरकारले बजेट दोब्बर बनाएको र कीर्तिपुरमा निर्माणाधीन क्रिकेट मैदान अन्तिम चरणमा पुगेकाले समग्र खेलकुद क्षेत्रमा उत्साह बढेको बताए।