काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक साधारण सभा बैठकले विभिन्न संकाय र तहमा अध्ययन गरेका ८९ हजार १ सय ९१ विद्यार्थीको समावेश रहेको ६३औँ ग्रेसलिष्ट पारित गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न बैठकमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेसलिष्ट पारित गरिएको हो।
बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि त्रिविको बजेट तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति ओलीले त्रिविलाई २१औँ शताब्दीसँग प्रतिस्पर्धा गर्न सक्ने आधुनिक र सक्षम विश्वविद्यालयका रूपमा विकास गर्न आग्रह गरे।
सहकुलपति एवं विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न शिक्षाको योगदान निर्णायक हुने भन्दै त्रिविले पनि त्यस अनुरूप रणनीति बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।
नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले त्रिविमा अध्ययनरत कुल विद्यार्थीमध्ये कम्तीमा एक प्रतिशत (झण्डै ४ हजार) विदेशी विद्यार्थी भर्ना हुने गरी योजना बनाउनुपर्ने धारणा राखे।
यसै बैठकमार्फत त्रिविको भावी कार्यदिशा र शैक्षिक सुधारतर्फको प्रतिबद्धता दोहोरिएको छ।