काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता नवराज सुवेदीले आफूलाई पार्टीको अनुशासन समितिबाट हटाइएको विषयमा निर्वाचन आयोगमा उजुरी दिएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयप्रति असन्तुष्टि जनाउँदै सुवेदी आइतबार आयोग पुगेका हुन्।
सुवेदीसँगै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी लगायतका नेताहरू पनि निर्वाचन आयोगमा उपस्थित भएका थिए।
सुवेदीले अध्यक्ष लिङ्देनको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै भने,”मलाई थाहा नै नदिइ अनुशासन समितिबाट हटाउनु पूर्ण रूपमा स्वेच्छाचारिता हो।”
उनले थपे,”निर्णय केन्द्रीय समितिबाट नभई एकल निर्णयमा गरिएको छ। मलाई सोध्नुपथ्र्यो, म त मिडियाबाट मात्रै थाहा पाएँ।”
नेता सुवेदीले केही समयअघि राजसंस्था पुनर्स्थापनाको पक्षमा संयुक्त जनआन्दोलन समितिको नेतृत्व गर्दै पत्रकार सम्मेलनमार्फत राप्रपाको सदस्यता त्यागेको घोषणा गरेका थिए। तर, उनले पार्टीमा लिखित रूपमा राजीनामा भने नबुझाएको दाबी गरेका छन्। यसैलाई आधार मानेर अध्यक्ष लिङ्देनले उनलाई पार्टीमा नरहेको ठहर गर्दै अनुशासन समितिको अध्यक्ष पदबाट हटाएका थिए।
सुवेदी हटाइएपछि अध्यक्ष लिङ्देनले रोशन कार्कीलाई अनुशासन समितिको नयाँ अध्यक्ष नियुक्त गरेका छन्। केही दिनअघि अध्यक्ष लिङ्देनले प्रवक्ता सगुनसुन्दर लावतीलाई पनि जिम्मेवारीबाट हटाएका थिए। यो निर्णयपछि राप्रपाभित्रको आन्तरिक विवाद झनै चुलिएको छ।
पछिल्ला घटनाक्रमले राप्रपाभित्र अध्यक्ष लिङ्देन नेतृत्वप्रति असन्तुष्ट पक्ष सशक्त रूपमा अघि बढ्न थालेको देखिएको छ। पार्टी नेतृत्वको निर्णय प्रक्रियालाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेका छन् भने वरिष्ठ नेताहरूको सक्रियताले पार्टीभित्रको शक्ति संघर्ष अझ स्पष्ट बन्दै गएको छ।