एजेन्सी । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा निकालिएको र्यालीका क्रममा भएको झडपमा ४ जनाको मृत्यु भएको छ। हिंसा नियन्त्रणका लागि प्रहरीद्वारा चलाइएको गोली लागेर ९ जना घाइते भएका छन्।
गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो। बंगलादेशी समाचार संस्था ‘प्रोथोम आलो’ का अनुसार, र्यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक र प्रहरीबीच झडप भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार अवामी लीग समर्थकहरूले लाठी, ढुंगा र इँटा प्रयोग गरी सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए।
प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए। यस्तै, एनसीपीको जुलुसमाथि आक्रमण भएपछि प्रहरीले जवाफमा गोली चलाएको र भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो।
हिंसामा ज्यान गुमाउने चारमध्ये तीन जनाको पहिचान खुलेको छ। मृतकहरूमा दीप्टो साहा (२५), रमजान काजी (१८) र सोहेल मोल्ला (४१) रहेका छन्। उनीहरूलाई गम्भीर घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पताल लगिएको भए पनि ज्यान जोगाउन सकिएन।
हिंसाका बाबजुद एनसीपीले गोपालगञ्जमा र्याली सम्पन्न गरेको छ। क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमकै बीचमा पार्टी नेताहरूले सम्बोधन गरेका थिए। एनसीपीका संयोजक नाहिद इस्लामले र्यालीको अध्यक्षता गर्दै सुरक्षा निकायबाट न्याय नपाए आफूहरूले न्याय लिने चेतावनी दिए।
एनसीपी नेता सरजिस आलमले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अवामी लीग समर्थकहरूबाट आक्रमण भएको र प्रहरी मूकदर्शक बनेको आरोप लगाएका छन्।
घटनापछि प्रधानमन्त्री कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि कर्फ्यु जारी गरेको छ। स्थानीय सुरक्षाका लागि बंगलादेशको अर्धसैनिक बल बीजीपीका करिब २०० जवान तैनाथ गरिएको छ।
एनसीपी बंगलादेशको नयाँ उदाउँदै गरेको राजनीतिक दल हो, जसको स्थापना २८ फेब्रुअरी २०२५ मा भएको थियो। यो बंगलादेशको इतिहासमा विद्यार्थी नेतृत्वको पहिलो राजनीतिक दल मानिन्छ। पार्टीलाई नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको समर्थन प्राप्त छ।
युनुसले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै युवाहरूको आन्दोलन रोक्न खोजिएको भन्दै घटनाको आलोचना गरेका छन्। उनले हिंसाको दोष शेख हसिनाको अवामी लीग र यसको विद्यार्थी संगठनलाई दिँदै दोषीलाई जवाफदेही बनाउन माग गरेका छन्।