काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने कार्यक्रम स्वीकृत गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार निर्वाचन प्रक्रिया असोज २१ गते उम्मेदवारको मनोनयनबाट सुरु हुनेछ।
निर्वाचन कार्यक्रमअनुसार:
असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।
सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ।
असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ।
उजुरी र मनोनयनपत्रको जाँचबुझ गरी असोज २३ गते बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
असोज २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि दिउँसो ३ बजेसम्म अन्तिम उम्मेदवार सूची र चुनाव चिह्न प्रदान गरिनेछ।
आयोगले समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यको बन्दसूचीमा नाम रहेका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने प्रावधान रहेको पनि स्पष्ट पारेको छ।
रूपन्देही–३ मा उपनिर्वाचनको आवश्यकता सांसद रवी लामिछानेद्वारा पद त्यागपछि आएको हो। आगामी निर्वाचनका लागि सरोकारवाला दलहरू अहिले तयारीमा जुटेका छन्।