काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको अभियोगमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौं का अनुसार पीडित महिलामाथि २०७८ जेठ ४ गते बलात्कार भएको हो। घटनापछि कसैलाई बताए ज्यान मार्ने धम्कीसमेत दिएको पीडितले प्रहरीलाई बयान दिएकी छिन्।
पीडितले यसअघि पटक–पटक जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले अस्वीकार गरेको बताइएको छ। अन्ततः उनले २०७८ कात्तिक २८ गते जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी थिइन्। वकिलको कार्यालयको पत्राचारपछि २०७८ माघ ३ गते प्रहरीमा औपचारिक जाहेरी दर्ता भएको हो।
प्रहरीले २०७८ चैत २५ गते जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि अहिराज फरार भएका थिए। लामो समयको खोजतलासपछि आइतबार उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ। अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
राजेश झा अहिराज एमालेको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेश प्रदेश प्रमुखका रूपमा नियुक्त भएका थिए।