काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ। प्याराफिट निर्माण र फ्लडलाइट जडान कार्य अन्तिम चरणमा पुगेको छ।
दुई छुट्टाछुट्टै जोइन्ट भेन्चर (जेभी) कम्पनीसँग गरिएको ठेक्का सम्झौता अनुसार करिब ९७ करोड रुपैयाँ लागतमा मैदान स्तरोन्नति भइरहेको हो।
प्याराफिट निर्माणको काम बीकेओआई केसीडीसी बीजीको जेभीले, भने फ्लडलाइट जडानको जिम्मा विशन–ईश्वरी जेभीले लिएको हो। प्याराफिट निर्माणका लागि ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता गरिएको थियो।
ढिलाइपछि दैनिक जरिवानासहित काम
निर्धारित मिति भित्र काम नसकिएपछि ठेकेदार कम्पनीहरूले असार ३० गतेदेखि दैनिक झन्डै २ लाख रुपैयाँ हर्जाना तिरेर निर्माण कार्य अघि बढाइरहेका छन्।
सम्झौताअनुसार ढिलाइ भएमा आर्थिक जरिवाना लाग्ने प्रावधानअनुसार ठेकेदारहरू हर्जाना तिर्दै काम गरिरहेका छन्।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइँदै
क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट जडानपछि त्रिविको मैदान अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न योग्य हुने अपेक्षा गरिएको छ। निर्माण सम्पन्न भएपछि यस मैदानमा उच्च स्तरीय घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सहज हुने जनाइएको छ।