काठमाडौं । मुलुकभर परेकोे वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरुद्ध भएका हुन् ।
अवरोध हुनेमा संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरोध भएको छ ।
यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालिगण्डकी कोरिडोर, गुल्मीको रुरु गाउँपालिकास्थित रिडी तम्घास सडक र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, तेह्रथुमको मध्यपहाडी राजमार्ग, महोत्तरीको पूर्वपश्चिम लोकमार्ग, रसुवाको गल्छी त्रिशुली सडक, बागलुङको कालिगण्डकी कोरिडोर र मध्यपहाडी राजमार्ग, नवलपरासी पूर्वको कालिगण्डकी कोरिडोर, मुस्ताङको वेनी जोमसोम सडक र तनहुँको पृथ्वीराजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
यसैगरी, अर्घाखाँचीको सन्धीखर्क गोरुसिङ्गे सडक, दाङको राप्ती राजमार्ग, रोल्पाको शहीद राजमार्ग र दैलेखको दैलेख सुर्खेत सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।