काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने नाममा २४ लाख ५० हजार घुस मागेको आरोपमा मालपोत अधिकृत कुमार आचार्य र टिकाराम राउतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यको मोबाइल डिभाइस र कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोबाइल डिभाइस एवं घुस/रिसवत रकम २४ लाख पचास हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा प्रमुख मालपोत अधिकृत आचार्य र कार्यालय सहयोगी राउतसमेतको मिलेमतो र योजनामा सेवाग्राहीसँग भक्तपुरको साबिक चाँगुनारायण गाविस-५ ख मा क्षेत्रफल १४-४-०-० जग्गाको मोही बाँडफाँड/नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाइदिने भनेर उक्त घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।