काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदभार सम्हालेसँगै नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राख्दै फैसला कार्यान्वयनलाई आक्रामक रूपमा अघि बढाएका छन्। यसकै परिणामस्वरूप गत आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ परेका छन्।
नेपाल प्रहरीका तथ्याङ्कअनुसार उक्त अवधिमा देशभरबाट २४ हजार ३८२ जना फरार अभियुक्त पक्राउ परे। अघिल्लो वर्ष १४ हजार ७६४ मात्र पक्राउ परेका थिए। यसरी एक वर्षमै ६५.०८ प्रतिशतले बढी फरार पक्राउ भएको हो।
उक्त सफलतामा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी अग्रस्थानमा रह्यो। कार्यालयले ६ हजार ३७५ जनालाई पक्राउ गर्यो। त्यसपछि मधेस प्रदेशले ५ हजार ७१२, लुम्बिनीले ३ हजार ९९६, कोशीले ३ हजार ४८९, बागमतीले १ हजार ७०३, गण्डकीले १ हजार ४९१, सुदूरपश्चिमले ९२८, कर्णालीले ५५६ र केन्द्रीय अनुसन्धान ब्युरोले १३२ फरार पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
केन्द्र र जिल्ला स्तरमा पनि सक्रियतापूर्वक अभियान चलेको देखिन्छ। काठमाडौं प्रहरी परिसरले मात्रै ५ हजार ५८५ फरारलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ, जुन देशभरकै सबैभन्दा बढी हो। परिसरले निर्णय कार्यान्वयनलाई विशेष रणनीति बनाएर अघि बढाएको बताइएको छ।
प्रहरीले गत वर्ष मात्र करिब रु १ अर्ब ५० करोड जरिवाना रकम असुल गरेको छ। गृहमन्त्री लेखकको नेतृत्वमा सहकारी प्रकरणमा समेत कडाइ भएको छ। गत वर्ष मात्र सहकारीसम्बन्धी ८२ मुद्दा दर्ता भएका र विभिन्न दलका उच्च तहका नेतासहित ४५ जना पक्राउ परेका गृह मन्त्रालयले जनाएको छ।