काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्वपूर्ण हुने बताएकी छन्।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा बोल्दै उनले भनसुनका आधारमा हुने कर्मचारी सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य यस विधेयकले पूरा गर्ने विश्वास व्यक्त गरिन्।
मन्त्री न्यौपानेले भने, “अब कर्मचारीको भनसुनका आधारमा सरुवा हुने प्रणालीलाई अन्त्य गर्न यो विधेयक महत्त्वपूर्ण हुनेछ। अनुमान र प्रभावका आधारमा हुने सरुवालाई व्यवस्थित गर्नुपर्छ।” उनले विधेयकलाई अझ समृद्ध बनाएर सरुवा–बढुवा प्रणाली व्यवस्थित र अनुमान योग्य बनाउन आग्रह गरिन्।
उनले सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन तथा संघीयता कार्यान्वयनका लागि पनि विधेयक महत्त्वपूर्ण दस्तावेज हुने उल्लेख गरिन्।
प्रतिनिधिसभाबाट पारित भइसकेको विधेयक राष्ट्रिय सभामा थप छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ। समितिमा विधेयकका १९३ बुँदामध्ये १६ समूहमा सांसदहरूले संशोधन प्रस्ताव राखेका छन्।