काठमाडौं । विज्ञापन बोर्डले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई प्रचलित ऐन तथा नियम विपरीत विज्ञापन नगर्न सचेत गराएको छ।
बोर्डले आइतबार सार्वजनिक गरेको सूचनामा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ सहितका प्रचलित कानुनको उल्लंघन हुने गरी विज्ञापन नगर्न चेतावनी दिइएको हो।
बोर्डका विभिन्न मितिका पत्रको जवाफ क्यानले नपठाएको र गत साउन २६ गते कार्य व्यस्तताको कारण जवाफ पेस गर्न नसकेको भन्दै पठाएको प्रतिक्रिया चित्त बुझ्दो नभएको बोर्डले जनाएको छ।
सूचनामा उल्लेख भएअनुसार, क्यानले बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न वा गराउन रोक लगाइने चेतावनी दिइएको छ। साथै, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा अन्य प्रचलित कानुन विपरीत गतिविधि नगर्न पनि सचेत गराइएको छ।