काठमाडौं । यातायात व्यवस्था विभागले आउँदो असोज १ गतेदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको छ। मंगलबार विभागले सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयमार्फत सवारी दर्ता, नामसारी र नवीकरण गर्ने क्रममा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएको हो।
विभागले सूचनामा उल्लेख गरेको छ, “सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै सवारी धनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयमा गई हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन जानकारी गराइन्छ।”
यसअघि २०८१ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार विभागले अब सवारी दर्ता, नामसारी र नवीकरणमा इम्बोस्ड नम्बर प्लेट जडान नगरेसम्म प्रक्रिया अघि बढ्ने छैन भन्ने चेतावनीसमेत दिएको छ।
सरकारले यसअघि नै इम्बोस्ड नम्बर प्लेटलाई सुरक्षित र आधुनिक यातायात व्यवस्थापन प्रणालीका लागि अपरिहार्य भनेको छ।