काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तान शाहीन्सबीच प्रतिस्पर्धा हुँदैछ। समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ।
सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।
मंगलबार भएको चौथो खेलमा भने नेपालले हुबर्ट हरिकेन्स माथि ६६ रनको फराकिलो जित हात पारेको थियो। त्यस्तै मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको थियो। नेपाल जितको लयलाई निरन्तरता दिने लक्ष्यमा छ। यो खेलमा सोमपाल कामीले पाँच विकेट लिएका थिए। पाकिस्तानले भने ५ खेल खेल्दा ३ जित निकालेको छ।
११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन्।
यो सिरिजपछि नेपालले थप पाँच अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्ने भएको हो।
नेपालले भदौ १० गते सीटीविरुद्ध दुई टी–२० खेल खेल्नेछ। त्यसपछि भदौ १२ गते साउथ अस्ट्रेलियाविरुद्ध पुनः दुई टी–२० खेल्ने छ । त्यसको २ दिनपछि नेपाल र साउथ अस्ट्रेलियाले १ एकदिवसीय खेल खेल्ने छन्।
अष्ट्रेलिया भ्रमण सकेर नेपाली टोलीले युएई जाने छ। शारजाह क्रिकेट रंगशालामा नेपाली टोलीले असोज ११, १२ र १४ गते दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।
यस ऐतिहासिक सिरिज पछि नेपालले ओमानमा आयोजना हुने आइसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट खेल्ने छ।
छनोट प्रतियोगितामा नेपाल समूह २ मा छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको छ।
समूह १ मा युएई, मलेसिया र कतार छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।
प्रत्येक समूहबाट शीर्ष २ टोली सुपर सिक्स चरणमा पुग्नेछन्। सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन्। यो छनोट प्रतियोगिता असोज २२ देखि ३१ सम्म चल्नेछ।