गैंडाकोट । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयको आयोजनामा नवलपुरको होटल रिभर क्राउनमा एकदिने सेवा प्रवेश अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
संस्थामा हालसालै आवद्ध भएका नयाँ कर्मचारीहरूलाई लक्षित गरी गरिएको तालिममार्फत वित्तीय संस्थाको उद्देश्य, नीति, कार्यशैली तथा ग्राहक सेवा सम्बन्धी विस्तृत जानकारी दिइएको थियो। साथै सहभागीहरूलाई अनिवार्य समूह तालिम, बचत, कर्जा, कर्जा असुली, सम्पत्ति शुद्धिकरण, लेखा व्यवस्थापन, डिजिटल बैंकिङ तथा सूचना प्रविधि विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले गरेका थिए। उनले उद्घाटन सत्रमा नयाँ कर्मचारीहरूलाई संस्थाको मूल्य र मान्यतासँग परिचित गराउँदै समृद्ध भविष्य निर्माणमा जिम्मेवार भूमिकाको महत्वबारे जोड दिएका थिए।
तालिमका विभिन्न सत्रहरूमा कर्जा विभाग प्रमुख प्रेम बहादुर थापा, आन्तरिक विभाग प्रमुख कृष्ण प्रसाद खनाल, अनुगमन तथा असुली विभाग प्रमुख कुशल खनाल, लेखा तथा कार्य संचालन विभाग प्रमुख रितु बानियाँ र सूचना प्रविधि विभागका कर्मचारी प्रविन पुडासैनीले प्रशिक्षण दिएका थिए।
संस्थाले यस प्रकारका तालिमहरूले कर्मचारीहरूको दक्षता अभिवृद्धि भई गुणस्तरीय सेवा प्रवाहमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।