काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न भएको आरोपमा ५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । तीमध्ये तीन जना खेलाडी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गराएको अभियोगमा खेलाडीहरू मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्ता भन्ने नितेश साहलाई तीन वर्ष कैद र पचास हजार रूपैयाँसम्म जरिवाना माग गरिएको छ ।
उनीहरू तीनै जनालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरिसकेको छ । त्यस्तै स्पट फिक्सिङमा संलग्न नवीन कँडेल र रवि माफीलाई पनि सोही कारबाही माग गरिएको छ । उनीहरू दुवै जना फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतसमक्ष अनुरोध गरेको छ ।
गत पुस ९ देखि २७ सम्म काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्वभाविक परिणामलाई प्रभावित पार्नेगरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो ।