काठमाडौ । नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जा लिन आग्रह गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन सबैलाई आग्रह गरेको हो । राष्ट्र बैंकका अनुसार ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्छ ।
निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने बैंकले जनाएको छ । केन्द्रीय बैंकले व्यक्तिगत कर्जाहरू स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको समेत जानकारी गराएको छ ।
‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।