काठमाडौं । नेपाली सेनाले काठमाडौंको सुरक्षा बढाएको छ । अप्रिय सूचना आएपछि सेनाले आफ्नो सुरक्षा व्यवस्था कडा पारेको हो । बिहीबार जेन–जी समूह र उनीहरूले पठाउने प्रतिनिधि र केही सरोकारवालासँग आन्तरिक सरकार गठन लगायतका विषयमा छलफल हुँदै गर्दा अर्को समूह पनि माइतीघर जाने सूचना सेनाले पाएको हो ।
जेन-जी समूहभित्रै अन्य समूह र संविधान बचाउ अभियान भन्दै अर्को समूह पनि माइतीघर जान खोजेपछि सेनाले सक्रियता बढाएको हो । यति बेला काठमाडौंको रिङरोड भित्रको सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ । समूहमा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ भने अनावश्यक रूपमा बाहिर निस्कन वा सडकमा हिँड्न दिइएको छैन ।
सञ्चारकर्मी र सार्वजनिक सेवामा रहेकाहरूलाई पनि कडा चेकजाँच गरिएको छ । त्यसै गरी केही राजनीतिक दलको केन्द्रीय कार्यालय वरिपरिको सुरक्षा पनि कडा पारिएको छ ।
नेपाली सेनाले बिहीबारको सुरक्षा कडाइलाई आकस्मिक अवस्था भनेको छ । जेन-जी समूहले हालको संविधानको मूलभूत विषयलाई आत्मसाथै गर्दै केही धारामा परिवर्तनको माग गरिरहेको छ ।
यता हिजोदेखि सत्तामा रहेका केही राजनीतिक दल र तिनका भातृ समूह भने यही संविधानलाई बचाउनुपर्ने भन्दै केन्द्रित हुन खोजेपछि सेनाले सुरक्षामा कडाइ गरेको हो ।
बंगलादेशमा पनि आन्दोलनरत पक्षले आन्दोलनको सफलता प्राप्त गरेपछि सत्तापक्षले पनि संविधान बचाउ अभियान भन्दै आन्दोलन गरेपछि दोहोरो झडप भएको थियो । सेनालाई आन्दोलनरत पक्ष र तत्कालीन सत्तापक्षको सम्बन्धमा बंगलादेश प्रकरण दोहोरिने प्रकृतिको सूचना आएपछि सेनाले सक्रियता बढाएको हो ।