काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग उनले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका हुन्।
मुख्यसचिव अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत बताए। राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत शुरु भइसकेको उनको भनाइ छ।
अर्यालले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको पनि बताए। उनले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने बताए।
मुख्यसचिव अर्यालकाे भनाइ:–
हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरू अनलाइनबाट सुरु गरिसकेका छौँ। अत्यावश्यक आवश्यक सेवाहरू खानेपानी, विद्युत तथा टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाहरूको लागि पनि हामीले तद्तद् निकायहरूलाई निर्देशन दिइसकेका छौँ।
हिजो र अस्ति मन्त्रालयका सचिवहरूसँग भर्चुअल माध्यमबाट छलफल गरेर सोहीअनुसार निर्देशन पनि भइसकेको छ। सुरक्षाको सम्बन्धमा नेपाली सेनाको नेतृत्वमा काम भइरहेको छ। र सुरक्षास्थिति सामान्यउन्मुख छ। अब जेनजी पुस्ताको मागहरुअनुसार सरकार बनोस्। नागरिक सरकारसँग काम गर्नको लागि ब्युरोक्रेसी तयार छ।
सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरिक्षणपछि छलफल पनि गर्यौँ । कति क्षति भएको छ त्यसको आँकलन गरिसकेपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने कुराहरु भइरहेको छ। त्यहीअनुसार हामी काम अगाडि बढाउँछौं। सरकार सञ्चालनको विषय आएको सबै हल्ला हो। सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुन्छ त्यो अनुसारको व्यवस्थापन हामी गर्छौँ। अभिलेखको क्षति कल्पना समेत गर्न सकिँदैन। पूर्वाधार र सवारीको क्षतिबारे प्राविधिक रुपमा आँकलन गर्छौँ ।