काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको सर्वोच्च अदालतमा आजदेखि इजलास सञ्चालन सुरु भएको छ। अदालतको प्रवेशद्वारदेखि पूर्ण रूपमा जलेको भवन र आगोले नष्ट भएका सवारीसाधन देख्न सकिन्छ।
सर्वोच्च अदालतका कर्मचारी बस्नै नसक्ने अवस्था छ। धेरै कर्मचारीको कार्यालय सामग्री, टेबल–कुर्सी जलेर नष्ट भएको छ। इजलास सञ्चालन गर्न अदालतले पालमुनि अस्थायी व्यवस्था गरेको छ। यहाँ काठका टेबल–कुर्सी राखेर न्यायाधीश, कानुन व्यवसायी र इजलास अधिकृतको बस्ने व्यवस्था गरिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, “आगजनीले इजलास सञ्चालन गर्ने स्थान क्षतिग्रस्त भएकोले पूर्ण बैठकले न्यायिक प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै पालमुनिबाटै इजलास सुरु गरेको हो।”
आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा एक र कुमार रेग्मीको इजलासमा दुई थान बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाइ गरिएको छ।
अदालतका प्रवक्ताले इजलासका लागि आवश्यक सूचना प्रविधि उपकरण र सवारीसाधन क्षतिग्रस्त भएको बताउँदै, “सर्वोच्च, विशेष र जिल्ला अदालत गरी २३ भवनमा क्षति भएका छन्। पूर्णरूपमा नष्ट भएका मुद्दाका मिसिलको लागि निर्देशिका बनाउने प्रक्रियामा छ,” जानकारी दिए।
हाल अदालतमा करिब २६ हजार मुद्दा दर्ता भएका छन्। क्षति भए पनि न्यायिक प्रक्रिया निरन्तरता सुनिश्चित गर्न सर्वोच्च अदालतले अस्थायी इजलासबाट काम अघि बढाएको छ।