काठमाडौं । लगातारको उतारचढाव र अव्यवस्थाले पूँजीबजारमा विश्वास संकट देखिएपछि अर्थमन्त्रालयले लगानीकर्ताको मनोबल वृद्धिका लागि तत्काल सुधार योजना ल्याउन कार्यदल गठन गरेको छ ।
अर्थमन्त्री डा. रामेश्वर खनालको निर्देशनमा बनेको चार सदस्यीय कार्यदलको संयोजक धितोपत्र बोर्डका कार्यकारी निर्देशक (का.मु.) रुपेश केसी रहेका छन् । नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक (का.मु.) निरञ्जन फूयाँल सदस्य र अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य–सचिव छन् ।
कार्यदललाई पूँजीबजारमा देखिएका विसंगति, अनियमितता र समस्या अध्ययन गरी पाँच दिनभित्र ठोस सुधार कार्ययोजना पेस गर्न भनिएको छ । यसअघि पनि पूँजीबजार सुधारका प्रतिबद्धता भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै लगानीकर्ताले चासो व्यक्त गरेका छन् ।