दिनेश लोहनी
देशभरि फैलिएको जेन-जी पुस्ताको आन्दोलनको प्रभाव लमजुङमा पनि देखिन थालेको छ । परम्परागत राजनीतिक प्रणाली, भ्रष्टाचार र नेतृत्वको पुरातन मानसिकताबाट निराश भएका शिक्षित र योग्य युवाहरू अहिले संगठित रूपमा वैकल्पिक मार्गको खोजीमा जुटेका छन्। यही असन्तोष र सम्भावनाको दोभानमा जन्मिँदै छ, “लमजुङ सेवा शक्ति” नामक नयाँ युवा अभियान।
यो कुनै परम्परागत राजनीतिक संगठन नभएर देशभित्र र विदेशमा रहेका लमजुङका जेन-जी तथा अन्य युवाहरूको साझा मञ्च बन्ने तयारीमा छ । सामाजिक अभियन्ता अन्सुल बहादुर लोहनी लगाएत स्वदेश विदेशमा रहेका युवाहरु र अन्य लमजुङका युवाहरुको अग्रसरतामा यो समूह अहिले विभिन्न छलफलमार्फत एउटा वलियो शक्ति निर्माण गरिरहेको छ ।
युवाको नेतृत्वमा वैकल्पिक अभियान अन्तर्गत, “अब नेतृत्व युवाले गर्नुपर्छ,” भन्ने मूल नारासहित अघि बढिरहेको “लमजुङ सेवा शक्ति” को मुख्य उद्देश्य राजनीतिक स्वच्छता, जवाफदेही नेतृत्व र समावेशी विकास हो । राजनीतिक दलहरूमाथिको जनविश्वास खस्कँदै गएको अवस्थामा स्वतन्त्र र विवेकशील युवाहरूको नेतृत्वमा आधारित नयाँ विकल्पको आवश्यकता रहेको यस अभियानको अठोट छ ।
यो अभियानले अनुभवी पुस्ताको सम्मान गर्दै, तर सक्रिय निर्णय क्षमता र नेतृत्व भने युवाबाटै हुनुपर्छ भन्ने विश्वास राख्छ । यसको उद्देश्य समाज परिवर्तनमा योगदान पुर्याउने भएकाले यो समूह औपचारिक रूपमा संगठन दर्ता गर्नेभन्दा पनि युवाहरूलाई भावनात्मक र उद्देश्यका दृष्टिले एकजुट गर्ने रणनीतिमा लागेको छ । युवाहरू अहिले सामाजिक सञ्जालमार्फत निरन्तर छलफल र कार्ययोजना तय गर्दैछन् । विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी अभियानलाई सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
चुनाव लक्षित अभियान अन्तर्गत, “लमजुङ सेवा शक्ति” ले योग्य उम्मेदवारलाई समर्थन गर्ने मुख्य उदेश्यका साथ आगामी फाल्गुन २१ गते हुने चुनावलाई प्रमुख मोर्चाका रूपमा हेरेको छ । यो समूहले कुनै राजनीतिक दलको पक्षमा उभिनुको सट्टा स्वतन्त्र, इमानदार र लमजुङको विकासका लागि ठोस योजना भएका योग्य उम्मेदवारलाई समर्थन गर्ने योजना बनाएको छ । उम्मेदवार छनोटका लागि अभियान भित्रै सिफारिस गरि चयन गरिने भनिएतापनि यदि अभियानभित्रबाट नेतृत्व गर्ने उम्मेदवार तयार नभए पेशाले निपुर्ण सक्षम युवालाइ सहयोग गरेरपनि समर्थन गर्न देश-विदेशमा रहेका लमजुङका युवाहरूको महत्त्वपूर्ण भूमिका रहनेछ ।
देश-विदेशमा रहेका युवाहरुबीचमा समन्वय गर्दै, यो अभियान हाललाई लमजुङभित्र सीमित गरिने छ । एसिया, युरोप र अन्य महाद्वीपमा रहेका युवाहरूले पनि सामाजिक सञ्जालमार्फत सहभागिता जनाउँदै विचार, स्रोत र सहयोग उपलब्ध गराइरहेका छन् । उनीहरूले नेपालभन्दा टाढा बसेर पनि आफ्नो देश र जिल्लाको विकासमा सकारात्मक प्रभाव पार्ने तरिकाले सहकार्य गर्ने बताएका छन् ।
सामाजिक अभियन्ता लोहनीका अनुसार, “हामी केवल नेतृत्वमा आउने कुरा गरिरहेका छैनौँ। हामी जनप्रतिनिधि कसरी छनोट गर्ने, विकास कसरी पारदर्शी बनाउने, जनताको पहुँच कसरी बढाउने भन्ने कुरामा पनि स्पष्ट योजना बनाइरहेका छौँ। लमजुङको राजनीति बदल्न नेतृत्व परिवर्तन मात्र होइन, सोच परिवर्तन पनि जरुरी छ।”
आगामी कदमहरु
दशैंको शुभकामना सन्देशमार्फत अभियान सार्वजनिक गर्ने।
अनलाइन र प्रत्यक्ष छलफलमार्फत युवा नेतृत्व तयार गर्ने।
उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने।
गाउँ-गाउँमा ‘युवा चिन्तन-विकास संवाद’ कार्यक्रम सञ्चालन गर्ने।
“लमजुङ सेवा शक्ति” केवल एउटा संगठन मात्र नभएर नयाँ पुस्ताको भविष्यप्रतिको भरोसा र समाजप्रतिको जिम्मेवारी हो। यदि यो अभियानले आफ्नो उद्देश्यअनुसार अगाडि बढ्न सक्यो भने, लमजुङमा नयाँ युगको राजनीति सुरु हुनेछ । जहाँ बोल्ने मात्र नभई सुन्ने र काम गर्ने नेताहरू जनताले पाउनेछन् भन्ने जेन-जी युवाहरूको आशय छ ।