काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ। नयाँ प्रावधानअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहने व्यक्तिले निश्चित मासिक तलबमान पूरा गरेको हुनुपर्नेछ।
युएईको संघीय प्राधिकरण (आईसीपी) ले भिसा स्पोन्सर गर्ने प्रावधानलाई चार तहमा विभाजन गरेको छ।
पहिलो तह – बुबा, आमा, श्रीमान्/श्रीमती र छोराछोरीलाई भिजिट भिसामा ल्याउन चाहने प्रायोजकको मासिक तलब कम्तीमा ४ हजार दिराम हुनुपर्नेछ।
दोस्रो तह – दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा तथा नाति–नातिनीलाई ल्याउन प्रायोजकको मासिक तलब ८ हजार दिराम आवश्यक हुनेछ।
तेस्रो तह – काका–काकी, मामा, फुपू तथा कजिनलाई भिजिट भिसामा ल्याउन पनि ८ हजार दिराम तलब चाहिनेछ।
साथी (नन–रिलेटिभ) – साथीलाई स्पोन्सर गर्न चाहने व्यक्तिले भने मासिक १५ हजार दिराम आम्दानी देखाउनुपर्नेछ।
नयाँ नियमअनुसार भिजिट भिसा स्पोन्सर गर्ने व्यक्तिको आयसँगै पारिवारिक सम्बन्ध प्रमाणित गर्नुपर्नेछ। आवेदनका लागि कम्तीमा ६ महिनाको लागि मान्य राहदानी, फिर्ता यात्रा टिकट अनिवार्य गरिएको छ।
आईसीपीका अनुसार यो व्यवस्था पारदर्शिता बढाउने, आर्थिक विविधीकरणलाई समर्थन गर्ने र प्रतिभाशाली व्यक्तिलाई युएईमा आकर्षित गर्ने उद्देश्यले लागू गरिएको हो।