काठमाडौं । आज देशभर ऐश्वर्य, धन–धान्य र सम्पन्नताकी देवी लक्ष्मीको आराधना गरी लक्ष्मीपूजा तथा कुकुर तिहार श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ।
हिन्दु परम्परा अनुसार कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री भनिन्छ, जसलाई लक्ष्मीपूजाको विशेष दिनका रूपमा मनाइन्छ। विश्वास छ सफा–सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मी प्रवेश गर्दिनन्। त्यसैले आज बिहानैदेखि घर, पसल र कार्यालयहरूमा सरसफाइ गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिँदैछ।
घरका झ्याल, ढोका, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत स्थानमा विशेषरूपमा दीप प्रज्वलन र सजावट गरिन्छ। साँझपख आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीको पाइला कोरिन्छ। त्यसै बाटोमा दीप बालेर देवी लक्ष्मीको आगमनका लागि झिलीमिली वातावरण बनाइन्छ।
पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला अर्पण गर्दै विधिपूर्वक पूजा गरिन्छ। पूजा पछि कन्या केटी र छोरी–चेलीलाई लक्ष्मीको प्रतीक मानी दक्षिणा दिने परम्परा रहेको छ। धार्मिक विश्वास अनुसार आजको दिन घरमा पूजा गरेपछि धन वा सामान बाहिर पठाउँदा लक्ष्मी बाहिर जाने मान्यता पनि छ।
यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ। सामान्यतः कुकुर तिहार यमपञ्चक अर्थात् दीपावलीको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तेस्रो दिन परेको हो।
आज देशभर कुकुरलाई तिलक, माला र मीठा परिकार अर्पण गरी पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार कुकुर यमदूतका प्रतीक हुन् र तिनीहरू यमराजका द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरका प्रतीक मानिन्छन्। कुकुरलाई मीठा परिकार खुवाए यमलोकको बाटो सहज हुने विश्वासका आधारमा यो पर्व मनाइन्छ।
धार्मिक ग्रन्थहरू अनुसार वैवस्वतः मन्वन्तरका धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिने कुकुरले निष्ठा र सुरक्षा प्रतीकको रूपमा मानव समाजमा विशेष स्थान पाएको छ। त्यसैले आजको दिन कुकुरप्रति माया, कृतज्ञता र सम्मान प्रकट गर्दै कुकुर तिहार मनाइँदैछ।
यसरी आजको दिन लक्ष्मीपूजा र कुकुर तिहारले धर्म, संस्कार, सौन्दर्य र सहअस्तित्वको गहिरो सन्देश दिँदै नेपाली समाजलाई उज्यालो, समृद्धि र प्रेमको भावनाले आलोकित बनाएको छ।