काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदै छन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
समितिका अनुसार बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त भाइटीकाको उत्तम साइत रहेको छ । यस वर्ष दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्की टीका लगाउने शास्त्रीय व्यवस्था छ, जसले शुभकर्ममा चन्द्रमालाई सम्मुख पार्ने विश्वास रहिआएको छ ।
धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा रहेको छ ।
तिहारमा सप्तरङ्गी टीकाको चलन बढे पनि शास्त्रीय रूपमा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने परम्परा उल्लेख छ । दिदीबहिनीले टीका लगाइसकेपछि दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटी दिने र दाजुभाइले गच्छेअनुसार कपडा, दक्षिणा र उपहार अर्पण गर्ने चलन रहिआएको छ ।
यसै दिन दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज एकदिनका लागि खुला गरिएको छ । वर्षमा एकपटकमात्र खुल्ने यो मन्दिरमा भाइटीकाको दिन पूजा र टीका गर्न मानिसहरूको भीड लाग्ने गर्छ ।
यस्तै, जयबागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा गरी टीका लगाउने परम्परा छ ।
२०३५ अघि रानीपोखरीमा मानिस हामफाल्ने समस्या बढेपछि बालगोपालेश्वर मन्दिर केही वर्ष बन्द गरिएको थियो । त्यसबेला खञ्जनेश्वर महादेव मन्दिरमा भीड लाग्ने गर्थ्यो । विसं २०३५ पछि मन्दिर पुनः नियमित रूपमा खोलिने परम्परा सुरु भएको हो ।
भाइटीकाको दिन नेवार समुदायले किजापूजा का रूपमा मनाउने गर्छन् । भक्तपुरका केही नेवार समुदायले यस वर्ष बुधबार नै किजापूजा सम्पन्न गरेको भक्तपुर नगरपालिका जनाएको छ ।