काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा शहीद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै जेन–जी युनाइटेड परिवर्तन समूहले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा शहीद परिवार, घाइते युवा तथा आन्दोलनका सहभागीहरूको उपस्थितिमा शहीदहरूको तस्वीरमा टीका र माला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो। उपस्थित दिदीबहिनीहरूले आन्दोलनमा बलिदान दिने शहीदहरूको सम्झनामा सहभागी युवाहरूलाई भाइटीका लगाइदिएका थिए।
समूहका प्रतिनिधिहरूका अनुसार, कार्यक्रमको उद्देश्य शहीदहरूको बलिदानलाई सम्मान गर्ने र एकता, सहअस्तित्व तथा परिवर्तनको भावना पुनर्जीवित गर्ने रहेको थियो। कार्यक्रममा सहभागीहरूले तिहारको भाइटीका दिवसलाई सहअस्तित्व र आशाको प्रतीकका रूपमा मनाएका थिए।
आयोजक समूहले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने शहीदहरूको सम्झनामा देशभर शान्ति, न्याय र प्रणालीगत परिवर्तनका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमले तिहारको सांस्कृतिक भावनासँगै सामाजिक चेतना र राष्ट्रिय एकताको सन्देश पनि दिएको आयोजकहरूले बताएका छन्।