काठमाडौँ । आगामी कात्तिक १० गते मनाइने छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले महानगरभित्र ८ स्थान तोकेर तयारी तीव्र पारेको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले छठ पर्वका लागि तोकिएका स्थलहरूको सूची सार्वजनिक गरेका हुन्। उनका अनुसार कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटलाई यस वर्ष छठ पर्व मनाउनका लागि तोकिएको हो।
पाण्डेका अनुसार ती स्थानहरूमा महानगरले सफा–सफाइ र व्यवस्थापनको काम सुरु गरिसकेको छ। उक्त कामका लागि ३ सयभन्दा बढी सरसफाइकर्मीहरू खटाइएको बताइयो।
‘महानगरले छठ पर्व मनाउनका लागि कुनै कमी नहुने गरी तयारी गरिरहेको छ,’ पाण्डेले भने, ‘सरसफाइ, प्रकाश, सुरक्षा र आवश्यक व्यवस्थापन सुनिश्चित गरिएको छ।’
उनले छठ पर्वको नाममा पोखरी वा तालमा पैसा उठाउन नपाइने चेतावनी पनि दिए। ‘कसैले शुल्क लिन खोजेमा तुरुन्त जानकारी दिनुहोस्,’ उनले आग्रह गरे।
त्यस्तै, पाण्डेले तोकिएका स्थल वरिपरि सवारीसाधन पार्किङ नगर्न समेत अनुरोध गरे।
छठ पर्व सूर्यदेवको आराधना गर्ने महापर्व हो। यो पर्वमा भक्तजनले नदी, ताल वा पोखरी किनारमा गएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्।

