काठमाडौं । प्रतिकूल मौसम र ‘इनरुट वेदर’ बिग्रिएको कारण आज मुलुकभरका हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
विमानस्थल कार्यालयका अनुसार आज आन्तरिकतर्फ केही उडान डाइभर्ट भएका छन् भने भरतपुर र तुम्लिङटार विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ। पोखरा विमानस्थलमा आगमन बन्द छ, तर डिपार्चर मात्र सञ्चालनमा रहेको छ।
यसैगरी, विराटनगरबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमान डाइभर्ट भएको छ भने भैरहवाबाट काठमाडौं उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट भएको छ।
अन्तर्राष्ट्रिय उडानमा पनि प्रभाव परेको छ। कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्लीमा डाइभर्ट गरिएको छ। दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ भने इन्डिगो एयरको जहाजलाई पनि दिल्लीमा रोकिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले अहिलेसम्म विमानस्थलको भिजिबिलिटी २५०० मिटर रहेको बताए। इनरुट वेदरको खराबीले आन्तरिक उडानमा समस्या भइरहेको र यात्रुहरूले अपडेट जानकारीका लागि एयरलाइन्ससँग सम्पर्क गर्नुपर्ने विमानस्थलले अनुरोध गरेको छ।

