काठमाडौं । काठमाडौं महानगरपालिका–८, जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा ४० वर्षपछि मूर्ति पुनःस्थापना गरिएको छ।
काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष आशामान सङ्गत र महानगरपालिकाकी नगरउपप्रमुख सुनिता डङ्गोलले आज बिहान विधिपूर्वक पूजा गर्दै मूर्तिको पुनःस्थापना गरेका हुन्।
वडाध्यक्ष सङ्गतका अनुसार छैटौँ शताब्दीमा बनेको यो ऐतिहासिक मूर्ति विगत ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा सुरक्षित राखिएको थियो। उनले भने, “संरक्षणको अभावमा मूर्ति ४० वर्षदेखि प्रहरी वृत्तमा राखिएको थियो। आज हामीले त्यसलाई पुनः आफ्नै स्थानमा पुनःस्थापना गरेका छौँ।”
विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको गायत्री मार्गमा रहेको दुईतले ब्रह्मा मन्दिरमा बाजागाजा र बग्गीसहितको र्याली निकालेर मूर्तिलाई पुनःस्थापना गरिएको हो।
छैटौँ शताब्दीमा निर्माण गरिएको चतुरमुख ब्रह्मा मूर्तिसहितको मन्दिर १९९० सालको भूकम्पअघि नै भत्किएको थियो। त्यसपछि मूर्ति हराएको र पछि धोबीखोलामा भेटिएपछि प्रहरी वृत्त गौशालामा राखिएको थियो।
विसं २०७२ वैशाख १२ को भूकम्पले जीर्ण बनाएको मन्दिरको पुनःनिर्माण कार्य काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले शिलान्यास गरेर सुरु गरेका थिए।
इँट्टा, माटो र काठबाट निर्मित दुईतले प्यागोडा शैलीको मन्दिर पुनःनिर्माण सम्पन्न भइसकेपछि आज मूर्तिको पुनःस्थापना गरिएको हो।
स्थानीय बासिन्दा, संस्कृतिविद्, सम्पदाविद्, महानगरका प्रतिनिधि र प्रहरी अधिकारीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले नेपालको धार्मिक र ऐतिहासिक सम्पदाको संरक्षणमा यो कदम ऐतिहासिक रहेको बताएका छन्।

