काठमाडौं । हिंसा भड्काउने र सार्वजनिक शिष्टाचार विरुद्धको अपराध गरेको भन्दै प्रहरीले डा.निकोलस भुसाललाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट उनलाई मंगलबार पक्राउ गरिएको हो ।
प्रहरी स्रोतका अनुसार, उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो । भुसाल पछिल्ला दिनमा सञ्चार सम्पर्क विच्छेद गरेर बसेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन दिनदेखि उनको खोजी गरिरहेको थियो । डा. भुसाललाई काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाइने भएको छ ।
भुसालले केही दिनअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी(सीडीओ) छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनको भड्काउपूर्ण अभिव्यक्तिपछि प्रहरीले ओली बस्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा सुरक्षा सतर्कता अपनाउँदै आएको छ ।

