काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र हाल मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचाररत छन्। उनका स्वास्थ्यबारे विभिन्न रिपोर्टहरू आइरहेका बेला भारतीय सञ्चारमाध्यमले उनको मृत्यु भएको दाबी गरेका थिए।
यसबीच धर्मेन्द्रकी छोरी ईशा देओलले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा पोस्ट गर्दै परिवारप्रति मिडियाको अत्यधिक सक्रियता र गलत समाचारप्रति आपत्ति जनाइन्। उनले लेखेकी छिन्:
“मिडिया अति नै एक्टिभ भएको छ र गलत समाचार फैलाइरहेको छ। मेरो बुबाको स्वास्थ्य स्थिर छ, उहाँ निको भइरहनु भएको छ। कृपया हाम्रो परिवारलाई प्राइभेसी दिनुस्। बुबाको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद।”
भारतीय रक्षामन्त्री राजनाथ सिंह र गीतिकार जावेद अख्तरले धर्मेन्द्रको मृत्यु भएको भन्दै समवेदना व्यक्त गरेपछि ईशाले यो प्रतिक्रिया दिइन्।
धर्मेन्द्रलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। परिवारका अनुसार उनी डाक्टरहरूको निगरानीमा छन् र स्वास्थ्य अवस्था स्थिर छ। यसअघि धर्मेन्द्रकी पत्नी हेमा मालिनीले पनि सामाजिक सञ्जालमा धर्मेन्द्रको स्वास्थ्यबारे जानकारी दिँदै उनलाई डाक्टरहरूको निगरानीमा रहेको र अवस्था स्थिर रहेको बताएकी थिइन्।

