काठमाडौं । वीर अस्पतालले अब श्वासप्रश्वास सम्बन्धी १० विभिन्न रोगका भाइरसको एकैपटक परीक्षण सुरु गरेको छ। अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा सुरु भएको यस परीक्षणको जानकारी मेडिकल अनुवाङ्शिक विभागकी प्रमुख डा. निलम ठाकुरले दिइन्।
बिरामीको रोग पत्ता लगाउन पहिले फरक–फरक समयमा परीक्षण गर्नुपर्ने भएकाले समय र खर्च दुवै बढी लाग्ने समस्या हुन्थ्यो। तर अब एकैपटक १० भाइरस परीक्षण गर्न सकिँदा खर्च कम हुने मात्र होइन, कुन भाइरसले कुन रोग निम्त्याएको हो भन्ने कुरा पनि स्पष्ट हुन्छ।
डा. ठाकुरका अनुसार, परीक्षणपछि पत्ता लागेका रोगको उपचार अस्पतालमै उपलब्ध हुनेछ। यस्तै प्रयोगशालामा मस्तिष्क सङ्क्रमण सम्बन्धी छ वटा भाइरसको एकैपटक परीक्षण गर्ने सुविधा पनि सुरु गरिएको छ।
वीर अस्पतालको प्रयोगशालामा फोक्सोबाहेक अन्य अंगमा लाग्ने क्षयरोगको परीक्षण पनि हुँदै आएको छ। यो प्रयोगशाला विसं २०७३ मा अनुवाङ्शिक रोगको पहिचान र उपचारका लागि स्थापना गरिएको थियो। तर हाल जनशक्ति र उपकरणको कमीका कारण दैनिक परीक्षण नियमित रूपमा गर्न नसकिएको डा. ठाकुरले बताइन्। हाल प्रयोगशालामा २५ वटा अनुवाङ्शिक रोगका भाइरसको परीक्षण नियमित रूपमा सञ्चालन भइरहेको छ।
डा. ठाकुरले भने, “सरकारी रुपमा अनुवाङ्शिक रोग पत्ता लगाउने यही नै प्रमुख प्रयोगशाला हो, तर हामीसँग तीन जना मात्रै जनशक्ति र सीमित उपकरण भएकाले परीक्षणमा समय लाग्छ।”

