काठमाडौं । निरन्तर सुस्त हुँदै गएको नेपाल शेयर बजार आज भने दोहोरो अंकले बढेको छ। तर बजार उकालो लागेका सत्ता पनि लगानीकर्ताको मनोबलमा खासै सुधार देखिएको छैन।
नेप्से परिसूचक १३.८० अंकले बढेर २५६४.१६ बिन्दुमा पुगेको छ। आज ३४५ कम्पनीका ९१ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६ करोड ५६ लाख रुपैयाँभन्दा बढी कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
बजारमा आज सबै १३ वटै उपसूचक हरियालीमा रहे। तीमध्ये विकास बैंक समूह १.२५%, होटल तथा पर्यटन १.२८%, र इन्भेष्टमेन्ट समूह १.०३% ले उकालो लागे। बजार बंद हुँदा २०७ कम्पनीको शेयर मूल्य बढेको, ४४ कम्पनीको घटेको तथा ५ कम्पनीको स्थिर रहेको छ।
यद्यपि, बजारमा देखिएको यो वृद्धि लगानीकर्तालाई उत्साहित बनाउन पर्याप्त हुन सकेन। पछिल्लो समय बजार निरन्तर कमजोर बन्दै गएको छ भने लगानीकर्ता निराश हुँदै गएका छन्। बैंक तथा वित्तीय संस्थाले आकर्षक लाभांश प्रस्ताव गरे पनि बजारमा अपेक्षित सक्रियता देखिएको छैन।
विशेषज्ञहरूले लगानीकर्ताको भावनात्मक उतार–चढाव, नयाँ लगानीकर्ताको हतारो, ठूला लगानीकर्ता र माफिया समूहको सम्भावित चलखेल तथा राजनीतिक अस्थिरतालाई बजारको वर्तमान स्थितिसँग जोडेर व्याख्या गरेका छन्।
यसबाहेक बैंकहरूको पहिलो त्रैमासिक वित्तीय विवरणमा आएको नकारात्मक परिणाम नाफा घट्नु र खराब कर्जा बढ्नुले दीर्घकालीन लगानीकर्तासमेत सतर्क बन्न बाध्य बनाएको विश्लेषकहरूको भनाइ छ।

