काठमाडौं । काठमाडौं । नुवाकोटको बञ्चरेडाँडामा स्थानीयवासीको विरोधका कारण उपत्यकाबाट फोहर बोक्ने गाडीहरू फिर्ता पठाइएको छ। ककनी गाउँपालिका र धुनबेँसी नगरपालिका क्षेत्रमा फोहर विसर्जन अस्थायी रूपमा रोकिएको छ।
स्थानीयहरूले विगतका सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका हुन्। धुनबेँसी–१ का स्थानीय निराञ्जन सञ्जेलका अनुसार, गत कात्तिक १६ गते सरोकारवाला मन्त्री कुलमान घिसिङले सहमति कार्यान्वयनको प्रतिबद्धता जनाए पनि १५ दिनभित्र प्रगति नहुँदा पुनः अवरोध सुरु गरिएको हो।
स्थानीयहरूले २०७९ जेठ २६ मा काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहसहित भएको १८ बुँदे सहमतिका सर्तअनुसार फोहर व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्। सहमतिमा फोहर रातको समयमा मात्रै विसर्जन गर्ने, दुर्गन्ध नआउने व्यवस्था मिलाउने, फोहर गाडीले लिच्छड नछुहाउने र वैज्ञानिक तरिकाले लिच्छड खोलामा जान नदिने जस्ता प्रावधान समावेश थिए।
फोहर विसर्जन रोकिएपछि प्रभावित क्षेत्रमा दुर्गन्ध फैलिँदै सरुवाजन्य रोगको जोखिम बढेको र दैनिक जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्। उनीहरूले सहमति कार्यान्वयनका लागि मन्त्रीस्तरीय लिखित प्रतिबद्धता र जिम्मेवार प्रतिनिधिको उपस्थिति आवश्यक रहेको बताएका छन्।
ककनी र धुनबेँसीका जनप्रतिनिधि, दलीय प्रतिनिधि लगायतले पनि स्थानीयको मागलाई समर्थन जनाएका छन्।

