लमजुङ । लमजुङ क्व्होलासोथार गाउँपालिका–७ भाेजे स्वास्थ्य चौकी परिसरमा बर्थिङ सेन्टर (प्रसूति गृह) निर्माणको शिलान्यास शुक्रबार सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङको प्रमुख आतिथ्यमा मिति २०८२ मंसिर ६ गते चरागाउँमा आयोजित कार्यक्रममा बर्थिङ सेन्टर निर्माण औपचारिक रूपमा सुरु गरिएको हो।

उक्त निर्माण कार्य क्व्होलासोथार गाउँपालिका, निमि बुद्ध फाउण्डेशन पोखरा, बुद्ध फाउण्डेशन जापान र अमला फाउण्डेशन नेदरल्याण्ड्सको लागत साझेदारीमा सम्पन्न गरिन लागेको हो। निर्माण यसै आर्थिक वर्षमा पूरा गर्ने लक्ष्य राखिएको जनाएको छ।
शिलान्यास कार्यक्रम वडा नं. ७ का वडाध्यक्ष लछुमन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, निमि बुद्ध फाउण्डेशनका अध्यक्ष रोश बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, स्वास्थ्य शाखा प्रमुख त्रिलोचन गुरुङ, प्राविधिक शाखा प्रमुख प्रकाश शेरचन, कार्यपालिका सदस्य पुस्पा सुनार, वडा सदस्यहरू, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, स्थानीय समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा वडा नं. ७ का स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
बर्थिङ सेन्टर निर्माणसँगै गाउँपालिकाका सबै ९ वडामा प्रसूति सेवा उपलब्ध हुने भएकाले सुरक्षित मातृत्व सेवा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। वडा नं. ७ का बासिन्दाले यसबाट सुरक्षित प्रसूति, शिशु मृत्यु दर न्यूनीकरण तथा स्वास्थ्य सेवाको पहुँचमा उल्लेखनीय सुधार हुने अपेक्षा गरेका छन्।

