काठमाडौं । नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्डमा निर्माण कार्यमा अपेक्षित प्रगति नआएपछि सरकारले सडक आंशिक रुपमा बन्द गर्दै प्रक्रिया अघि बढाउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवालासँग छलफल गर्दै निर्माण कार्य छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो।
निर्माण व्यवसायी र आयोजना पक्षले सवारी साधनको निरन्तर आवागमनका कारण निर्माण कार्यमा गति लिन नसकेको बताएपछि यही मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त रूपमा सूचना जारी गर्दै ट्राफिक व्यवस्थापन गरेर काम अघि बढाइने जनाएको छ।
त्रिभुवन राजपथअन्तर्गतको नागढुङ्गा–नौबिसे सडक खण्ड स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। काठमाडौँ भित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्ड कालोपत्रका लागि उच्च प्राथमिकतामा राखिएको छ, जहाँ सडकमाथि ठूलो उपकरण प्रयोग गर्नुपर्ने भएकाले ठाउँ साँघुरो भएको बताइएको छ। त्यस्तै, धादिङको गल्छी–गजुरी क्षेत्र पनि जोखिमपूर्ण भएकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नु आवश्यक देखिएको छ।
सूचना अनुसार नागढुङ्गा–पिप्लामोड र पोखरेभिर क्षेत्रमा मंसिर २४ देखि पुस १ सम्म बिहान १०:३० बजेदेखि अपराह्न ३:३० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुनेछ। यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्न र यात्रा समय सो समयमा नपर्ने गरी मिलाउन आग्रह गरिएको छ।
काठमाडौँबाट नौबिसे तर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ। अत्यावश्यक सेवाका सवारी साधन जस्तै एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल र शव वाहनलाई ट्राफिक प्रहरीले सहजीकरण गर्नेछ।
मुग्लिङतर्फबाट काठमाडौँ आउने सवारी साधन खानीखोला, जुंगेखोला, गल्छी, बैरेनी र मासटारमा रोकिनेछन्। साना तथा मझौला सवारी साधनले आवश्यक परेमा सीतापाईला–भिमढुङ्गा, रामकोट–धार्के र सामाखुसी–टोखा–छहरे सडक वैकल्पिक रूपमा प्रयोग गर्न सक्नेछन्। रोकिएका सवारी साधनलाई अपराह्न ३:३० पछि मात्र आवतजावतका लागि छोडिने जनाइएको छ।

