काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नै पार्टीले चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन्।
काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले भने, “हामीले नै जित्छौँ, कुनै शंका छ ? हामीले नै जित्छौँ, हामीले नै सरकार गठन गर्छौँ।” उनले थपे कि उक्त कुरा पार्टीको घोषणापत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।
साम्पाङले आफ्नो नेतृत्वको सरकारले जेन जेड समूहको माग सम्बोधन गर्न आयोग गठन गर्ने योजना रहेको पनि जानकारी दिए। उनले भने, “जेनजीको एउटा आयोग बनाउँछौँ। जेनजीले के भन्न चाहेको हो भन्ने बुझ्नुपर्छ। ८० वर्षको पुस्ता र हिजो अस्तिको युवा पुस्ताले भनेको कुरा बुझ्नुपर्छ।” उनले आफ्नो पार्टीको कार्यक्रम र योजनाले देशमा अग्रगामी छलाङ ल्याउने दाबी पनि गरे।

