काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९ ओभर १ बलमै सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो। सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन जोडे भने हर्मित सिंह र स्कट कुगेइलेनले समान १०–१० रन बनाए। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। हेमन्त धामी ७ रनमा अविजित रहे।
लुम्बिनीका बलरहरूमध्ये कप्तान रोहित पौडेलले ह्याट्रिकसहित महत्वपूर्ण भूमिका निभाए। रोहितले ११औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बने। यसअघि काठमाडौँ गोर्खाजका शाहब आलमले ह्याट्रिक लिएका थिए। शेर मल्ल र रुबेन ट्रम्पलम्यानले समान तीन–तीन विकेट लिए भने तिलक भण्डारीले एक विकेट झारे।
८६ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ९ ओभरभित्रै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। लुम्बिनीका ओपनर दिनेश अधिकारीले १३ बलमा पाँच छक्का र एक चौकासहित सर्वाधिक ४२ रनको आक्रामक पारी खेले। डार्सी सर्टले १३ रन बनाए भने कप्तान रोहित पौडेल १८ रनमा आउट भए। सन्दीप जोरा शून्य रनमा आउट हुँदा निरोशन डिक्वेला ११ र दिलिप नाथ १ रनमा अविजित रहे।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने अभिनास बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए। यस जितसँगै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ को उपाधि आफ्नो नाममा लेखाएको छ भने सुदूरपश्चिम रोयल्स उपविजेतामै सीमित रहन बाध्य भयो।

