हाम्रो हेडलाइन
काठमाडौं । राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंस्थित स्विजरल्याण्ड पार्क, कालुपाण्डे समाधि स्थल नजिकमा रहेको भ्यू ३६० रिसोर्ट होटलमा साधारणसभा सम्पन्न भएको हो ।

संघका अध्यक्ष प्रदीप प्रसाद कोइरालाको अध्यक्षतामा भएको साधारण सभामा संघका पदाधिकारी, सदस्यहरू तथा विज्ञापन व्यवसायसँग आबद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष धमेन्द्रकाजी श्रेष्ठले संघको स्थापना काल र हालको अवस्था उल्लेखनिय काम गर्दै सस्थागत सुधार गर्दै आएको बताए ।
सभामा संघको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना, नीतिगत विषय तथा विज्ञापन क्षेत्रसँग सम्बन्धित समसामयिक मुद्दामा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा विज्ञापन ऐन तथा नियमावलीका कारण विज्ञापन व्यवसायी मर्कामा परेको गुनासो व्यक्त गर्दै विज्ञापन बोर्डका लागि छुट्याइएको ३ प्रतिशत रकम हालसम्म विज्ञापन एजेन्सीमार्फत नै कट्टा हुँदै आएको विषयप्रति असन्तुष्टि जनाइएको थियो ।
विज्ञापन क्षेत्र केवल एजेन्सी मात्र नभई एक उद्योग भएको बुझाइ सरकारमा आवश्यक रहेको वक्ताहरूको भनाइ थियो । नेपाल सरकारका ऐन, नियम तथा नीतिहरूलाई स्वीकार गर्दै विज्ञापन क्षेत्रले पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमा ठूलो लगानी गरी हजारौँलाई रोजगारी प्रदान गर्दै आएको उल्लेख गर्दै तेस्रो पक्ष बिल र ३ प्रतिशत कटौतीबारे सरकारले पुनर्विचार गर्नुपर्ने माग गरिएको छ।
यसै सन्दर्भमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण गुमागाईंले पछिल्लो समय विज्ञापन बजार बिगार्ने तत्व विज्ञापन एजेन्सी नभएको स्पष्ट धारणा राखेको विषय पनि सभामा उल्लेख गरिएको थियो।

तेस्रो वार्षिक साधारण सभाबाट संघको विधान संशोधन गर्दै सातै प्रदेशमा कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ। संघका प्रथम उपाध्यक्ष अमृत कुमार पन्थीले देशैभरी सदस्यता विस्तार गर्नका लागि संघको विधान संशोधन गरिएको र देशैभरी संघले कार्यक्रम गरी संगठन विस्तार गरिने बताए । यसैगरी संघका द्धितीय उपाध्यक्ष आशिष खड्काले स्वागत मन्तब्य राखेका थिए ।
संघका महासचिव विमल खड्काका अनुसार हाल १ सय ५ सदस्य रहेको संघले चालु आर्थिक वर्षभित्र सदस्य संख्या १ सय ५० पु¥याउने लक्ष्य लिएको छ । सभामा कोषाध्यक्ष अरुण अर्यालले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

साधारण सभापछि आयोजित पिकनिक कार्यक्रममा सहभागीहरूबीच आपसी आत्मीयता, अनुभव आदान–प्रदान तथा मनोरञ्जनात्मक गतिविधिहरू सम्पन्न भएका थिए ।
संघले आगामी दिनमा विज्ञापन व्यवसायीहरूको हक–हित संरक्षण, सीप विकास तथा संस्थागत सुदृढीकरणमा थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।


