काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युत् गृहसहित सिभिल संरचना, हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडिएपछि पुनर्मूल्याङ्कन थालिएको छ ।
आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल—रमण जेभीसँग ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्था बमोजिम गत ८ मंसिरबाट ठेक्का तोडिएको थियो ।
सम्झौताबमोजिम ठेक्का तोडिएपछि निर्माण व्यवसायीका सम्पूर्ण उपकरण, साइट कार्यालय, निर्माणस्थल आयोजनाले आफ्नो नियन्त्रणमा लिएको छ । आयोजनाको अहिलेसम्म भएको काम, त्यहाँ रहेका उपकरण, बाँकी रहेका तथा थप गर्नुपर्ने काम लगायतको मूल्याङ्कन गरी लागत अनुमान तय गर्ने एवम् टेन्डरका कागजात बनाउने काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्री कुलमान घिसिङले सोमबार रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित आयोजनाको हेडवक्र्स निर्माण क्षेत्रको निरीक्षण गरी टेन्डर रद्द गरिएपछिको साइट अवस्था र नयाँ टेन्डर प्रगतिबारे जानकारी लिए ।
मन्त्री घिसिङले आयोजनास्थलमै आयोजना व्यवस्थापन र परामर्शदातासँग छलफल गरी हाल भइरहेको मूल्याङ्कनको काम दुई महिनाभित्र सम्पन्न गरी नयाँ टेन्डर प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।
उनले भने, ‘हालसम्म भएको काम, बाँकी काम, निर्माणका क्रममा देखिएका थप कामलाई समेत समेट्ने गरी मूल्याङ्कन गरेर सोही बमोजिम नयाँ टेन्डर गर्नुपर्दछ, सुरुङ बनिसकेको आयोजनाको निर्माणमा ढिलाइ गर्नु हुँदैन, नयाँ तालिका बमोजिम निर्माण सम्पन्न हुने सुनिश्चित गरी नयाँ टेन्डरको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ ।’

